कृषिलाई नै मुख्य पेशाको रुपमा अंगालेका बागलुङ जिल्लाका कृषकहरुलाई आधुनिक र उन्नत कृषि प्रविधि उपलब्ध गराई बहुसंख्यक कृषकहरुको जीवनस्तर माथि उठाउने अभिप्रायले यस जिल्लाको सदरमुकाम बागलुङ बजारमा बि.सं. २०२७ साल अश्विन १ गतेका दिन जिल्ला कृषि विकास कार्यालयको स्थापना भएको हो | यस कार्यालयको स्थापना काल देखि सरकारको कृषि नीति अनुरुप नै यस कार्यालयले यस जिल्लाका कृषकहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सेवा प्रदान गर्दै आएको छ |

बागलुङ जिल्ला हावापानी तथा भू-धरातलीय हिसाबबाट विविधतायुक्त पहाडी जिल्ला हो | समुन्द्री सतहबाट ६०० मिटर उचाई देखि करिब ४,६९० मिटर सम्मको स्थानहरु रहेको हुँदा कृषि क्षेत्रको निकै ठूलो सम्भावना रहेको पाइन्छ | खर्वाङ, जैदी जस्ता औलक्षेत्रको हावापानीयुक्त स्थान देखि संसारकोट धुरी, गाजा दहको दुरी, घोडाबाँधेको धुरी, शिबधुरी हुँदै विशिष्ट ठण्डी हावापानीयुक्त ढोरपाटन जस्ता क्षेत्रहरुको उपस्थितीले गर्दा बागलुङ जिल्ला विविधतायुक्त कृषि उत्पादनको लागि निकै धनि जिल्लाको रुपमा रहेको छ | त्यसैगरी बिगतमा सम्पन्न भएका ठूला ठूला सिचाँई आयोजना, विभिन्न संघ संस्थाहरुको उपस्थिती र बिजुली तथा यातायातको तुलनात्मक रुपमा राम्रो सुबिधा भएको हुँदा कृषि क्षेत्रको उच्च बिकासको लागि यो जिल्ला मलिलो जिल्लो रुपमा रहेको देखिन्छ |

गण्डकी प्रदेश सरकार, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय अन्तरगत रही कृषि ज्ञान केन्द्रको नाम बाट २०७५÷०४÷०१ गते स्थापना भई कृषि ज्ञान केन्द्र पर्वतले पर्वत र बागलुङ जिल्लाका कृषकहरुलाई कृषि सम्बन्धी सेवा प्रदान गदै आई रहेको थियो।हाल आ.व. २०७७/७८ मा आएर वि. सं. २०७७/९/२१ गते गण्डकी प्रदेश सरकार, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय अन्तरगत रही कृषि ज्ञान केन्द्र, बागलुङको नाम बाट स्थापना भई यस केन्द्रले बागलुङ जिल्लाका कृषकहरुलाई कृषि सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ |